बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्म समय थप


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज २८ २०८३
380
SHARES

२८ आश्विन काठमाडौं । नेपाल राष्ट्र बैंकले भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उद्यमी, व्यवसायी तथा ऋणीलाई बैंकको किस्ता तिर्न सहुलियत प्रदान गरेको छ । राष्ट्र बैंकले बाढी प्रभावित ऋणीहरूलाई किस्ता तिर्नका लागि २०८३ पुस मसान्तसम्मको समय थप गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ- भोटेकोशी तथा बुढीगण्डकीको बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यमm परियोजना वा व्यवसाय, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध–तयारी तथा मालवस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय एवं बाढीग्रस्त क्षेत्रमा प्रभावित ऋणीको हकमा बिक्री तथा आम्दानी, नगद प्रवाह, जगेडामा रहेको रकम लगायतका ऋणीको वित्तीय अवस्था, आयात एवं निर्यातमा परेको असर र कर्जा सदुपयोगिताको यथार्थपरक विश्लेषण गरी किस्ता भुक्तानी कठिनाइ भएको ऋणीको २०८३ असोज मसान्तमा किस्ता (साँवा र ब्याज) भुक्तानी गर्ने समयावधि इजाजत पत्र प्राप्त संस्थाले २०८३ पुस मसान्तसम्म थप गर्न सक्नेछन् ।

यस नयाँ व्यवस्थाअनुसार भोटेकोशी तथा बुढीगण्डकी नदीको बाढीबाट प्रत्यक्ष प्रभावित उद्यम, परियोजना तथा व्यवसायका ऋणीले राहत पाउनेछन् । त्यस्तै, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध तयारी तथा तयारी मालवस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय र बाढीग्रस्त क्षेत्रमा प्रभावित अन्य ऋणी पनि यस व्यवस्थाको दायरामा पर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।