ग्लोबल आइएमई बैंक लगातार तेस्रोपटक ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक १० २०८३
171
SHARES

९ कार्तिक काठमाडौं । ग्लोबल आइएमई बैंक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो ।ग्लोबल आइएमई बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गरेको थियो । थाइल्यान्डको राजधानी बैंककमा आयोजित एक विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।

ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालनको क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई)को सफल प्रयोग, दिगो कर्जा प्रवाह एवं सबल जोखिम व्यवस्थापनलाई मुख्य आधार मानेर बैंकलाई पुरस्कृत गरिएको जनाएको छ ।

समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थालाई समेत पुरस्कृत गरिएको थियो । हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आईसीबीसी, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको यूओबी मलेसिया, बंगलादेशको सिटी बैंक, जापानको एमयूएफजी बैंकलगायत अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बैंकहरू विभिन्न विधामा सम्मानित भएका ह्ुन् ।ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक भएको बैंकको दाबी छ । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैंक र वाणिज्य बैंकहरूलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्छ ।