ओली भेट्न बादल गुण्डुमा


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०८३
418
SHARES

३१ भदौ काठमाडौं । एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल फेरि अनिर्णयमा परेको छ ।अनिर्णयकै बीच कार्यदल संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।

शनिबार र आइतबार काभ्रेको बल्थलीमा सम्पन्न कार्यदलको आवासीय बैठकले पेश भएका फरक फरक प्रतिवेदनलाई एउटै बनाउन तीन सदस्यीय समिति बनाएको थियो ।

बुधबार अपराह्न च्यासलस्थित पार्टी कार्यालयमा कार्यदलका तीन नेताबीच दुई घण्टा छलफल भयो । उक्त कामका निम्ति कार्यदल संयोजक बादलसहित अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले जिम्मेवारी पाएका थिए ।

तर, च्यासलको छलफलमा दुई प्रतिवेदनलाई एउटै बनाउने विषयमा सहमति हुन नसकेपछि बादल अध्यक्ष ओलीलाई भेट्न च्यासल गएका हुन् ।

एमाले कार्यालयस्रोतका अनुसार उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले ओली पक्षबाट पेश भएको प्रतिवेदनमा ‘पुनर्गठन’ शव्द हटाउने, ‘नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने’ जस्ता विषय उल्लेख गर्न नचाहेपछि कुरा नमिलेको हो ।

बुधबार प्रतिवेदनलाई एउटै बनाएर भोलि बिहीबार कार्यदलको बैठक बस्ने तयारी थियो ।

तर, प्रतिवेदनलाई एउटै बनाउने विषयमध्ये मूल विषयमै कुरा नमिलेपछि कार्यदल संयोजक बादलले भोलिको बैठक बोलाउन चाहेनन् । स्रोतका अनुसार सोही विषयमा छलफल गर्न उनी गुण्डु पुगेका हुन् ।उपाध्यक्ष पौडेल र महासचिव पोखरेल भने गुण्डु गएका छैनन् ।