भारतबाट मुर्रा भैँसी ल्याउनु चानचुने कुरा थिएन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २ २०८३
380
SHARES

२ आश्विन काठमाडौं । नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारको नेतृत्वमा छँदा भारतबाट मुर्रा भैँसी ल्याएको सम्झिँदै गौरववोध गरेका छन् । अरूले दशकौंदेखि गर्न नसकेको काम आफूले गरेको उनले दाबी गरे । आज अखिल नेपाल किसान महासंघको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफू सरकारमा छँदा कृषि क्षेत्रमा लगानी बढाउन र किसानहरूलाई प्रेरित गर्न ध्यान दिएको बताए । यही सिलसिलामा आफूले भारतबाट मुर्रा भैँसी ल्याएको उनको भनाइ छ । प्रचण्ड मुर्रा भैँसी ल्याउने काम चानचुने नभएको समेत बताए । तर यसलाई खिल्ली उडाइएको उनले गुनासो गरे ।

प्रचण्डले भने, ‘तपाईँहरूले गहिरो गरी हेर्नुभयो भने मेरो पछिल्लो भारत भ्रमणमा त विरोधीहरूले मुर्रा भैँसी लिएर आयो प्रचण्डले भनेर बडो… खिल्ली उडाउने दुस्साहस गरे । तर मुर्रा भैँसी ल्याउनु चानचुने कुरा थिएन । दशौँ वर्षदेखि अरूले नसकेको कुरा थियो त्यो । त्यो मुर्रा भैँसी ल्याउने कुरा किसानहरूको जीवनमा परिवर्तन ल्याउने कुरासँग नै सम्बन्धित थियो,’ उनले भने ।चीन भ्रमणमा जाँदा पनि भैँसीको मासु आयातको विषयमा सम्झौता गरेको उनले सम्झिए ।

‘चीनमा भैँसीको मासुको बजार यति ठूलो रहेछ, त्यसको सैद्धान्तिक सहमति मैले गर्‍या हो चिनियाँ सरकारसँग । साँच्चै त्यसलाई हामीले राम्रोसँग अगाडि बढाउन सक्यौँ भने नेपालको कृषि क्षेत्रमा, किसानहरूको जीवनमा एउटा आमूल परिवर्तन त्यहीँबाट मात्रै पनि सम्भव छ,’ उनले भने ।