नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २० २०८३
133
SHARES

२० आश्विन काठमाडौं । यस वर्ष भदौ १० गते आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । मंगलबार (असोज २०) सार्वजनिक विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनमा पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि बढेसँगै देशको आर्थिक वृद्धिदर २०८४/८५ मा ५.२ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

‘भविष्यका निम्ति फरक ढंगले पुनर्निर्माण’ शीर्षकको प्रतिवेदनमा बाढीबाट भएको क्षतिका कारण उद्योग क्षेत्र आर्थिक वृद्धिको मुख्य बाधक बन्ने उल्लेख छ । जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको क्षतिले विद्युत् उत्पादन, उत्पादनमूलक गतिविधि र वस्तु आवागमन प्रभावित हुने विश्व बैंकको आकलन छ । व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा आएको अवरोधका कारण सेवा क्षेत्र पनि प्रभावित हुने जनाइएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका निम्ति विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिस्लेनले रसुवा बाढीले मानवीय तथा आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्‍याएको बताए । यो नेपालका निम्ति सडक तथा सञ्चार सञ्जाल, ऊर्जा, खानेपानी तथा सरसफाइ, स्वास्थ्य, शिक्षालगायत आधारभूत सेवाका पूर्वाधारबारे पुनर्विचार गर्ने अवसर पनि भएको उनको भनाइ छ ।

“विशेष गरी जलवायु परिवर्तन र बदलिँदो जोखिमको सन्दर्भमा पूर्वाधार योजना तथा लगानीमा उत्थानशीलता र वैकल्पिक व्यवस्थालाई महत्त्वपूर्ण स्थान दिन आवश्यक छ,” उनले भनेका छन्, “नेपाललाई अझ बढी उत्थानशील र दिगो विकासको मार्गमा अघि बढाउन आवश्यक प्रणालीमा लगानी गर्न र सही नीतिहरू कार्यान्वयन गर्न विश्व बैंक नेपाल सरकारलाई सहयोग गर्न तत्पर छ ।”

पुनर्निर्माणका क्रममा क्षतिग्रस्त संरचना पुनर्स्थापना गर्नेमा मात्र सीमित नरही बहुविपद् जोखिमको अद्यावधिक मूल्यांकन, पूर्वाधारको स्थान तथा डिजाइनमा सावधानी र यातायात, ऊर्जा तथा सञ्चारका महत्त्वपूर्ण सञ्जालमा वैकल्पिक व्यवस्था सुनिश्चित गर्न प्रतिवेदनमार्फत सुझाव दिइएको छ । विपद् पूर्वसूचना प्रणाली सुदृढ गर्न तथा संकटासन्न परिवारलाई विपद्पछिको सहायता छिटो उपलब्ध गराउन एकीकृत सामाजिक संरक्षण प्रणाली निर्माण गरिनुपर्नेमा पनि जोड दिइएको छ ।

दक्षिण एसियाको वृद्धि ६.९ प्रतिशत
विश्व बैंकको प्रतिवेदनमा सन् २०२६ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.९ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । सुदृढ आन्तरिक मागका कारण विश्वव्यापी आर्थिक आघातप्रति क्षेत्रीय अर्थतन्त्र उत्थानशील रहने अपेक्षा गरिएको छ । सन् २०२७ मा भने वृद्धिदर ६.७ प्रतिशतमा झर्ने अनुमान छ ।

दक्षिण एसियामा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । तर, विकसित अर्थतन्त्रको तुलनामा यसको प्रयोग अझै न्यून रहेको जनाइएको छ ।

स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा दक्ष जनशक्तिको अभाव पूर्ति तथा व्यवसायमा नयाँ अवसर सिर्जना गर्न एआईको प्रयोग महत्त्वपूर्ण बन्न सक्ने विश्व बैंकको निष्कर्ष छ ।

“एआईको प्रयोगले श्रम उत्पादकत्व वृद्धि, निर्यातका अवसर विस्तार तथा सार्वजनिक सेवा प्रवाहमा सुधारमार्फत दक्षिण एसियाको विकासको दिशालाई रूपान्तरण गर्ने सम्भावना प्रस्तुत गरेको छ,” विश्व बैंक समूहकी एसियाका निम्ति प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सर्गले भनेकी छन्, “तर, यी लाभ हासिल गर्न सरकारले एआईको प्रयोगमा अवरोध खडा गर्ने आधारभूत कमीकमजोरीलाई सम्बोधन गर्न आवश्यक छ ।”

एआईको प्रभावकारी प्रयोगका निम्ति जनशक्तिको सीप विकास, व्यवसायमैत्री वातावरण, भौतिक तथा डिजिटल पूर्वाधार सुधार र स्पष्ट नियामक संरचना आवश्यक रहेको विश्व बैंकले औँल्याएको छ ।साथै, साना व्यवसायले एआई प्रयोग गर्दा सामना गर्ने अवरोध हटाउन र स्थानीयस्तरमा यससम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्न सुझाव दिइएको छ ।