१२.२ डिग्रीमा झर्यो काठमाडौंको न्यूनतम तापक्रम
१७ कार्तिक काठमाडौं । देशभर चिसो बढ्दो क्रममा छ । तापक्रम बिस्तारै घटिरहेको छ ।मंगलबार (कात्तिक १७)) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यो तापक्रम यस वर्ष अर्थात् ०८३ साल लागेयताकै कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “काठमाडौंको लागि यो यस वर्ष आजसम्मलाई कम हो,” महाशाखाकी मौसमविद् निष्ठा निरौलाले भनिन् । सोही समयमा सोमबार (कात्तिक १६) काठमाडौंको न्यूनतम तापक्रम १४.८ र आइतबार (कात्तिक १५) १३.१ डिग्री मापन गरिएको थियो । यस वर्ष यसअघि काठमाडौंको कम न्यूनतम तापक्रम कात्तिक १० गते १२.५ डिग्री मापन गरिएको उनले जानकारी दिइन् ।
यस दिन बिहान महाशाखाले सार्वजनिक गरेको १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम ४.० डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम सोमबार ५.७ र आइतबार २.० डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
मंगलबार डडेलधुराको न्यूनतम तापक्रम ११.०, ताप्लेजुङको पनि १२.२, ओखलढुंगाको १३.०, धनकुटाको १४.२, पोखराको १५.० डिग्री सेल्सियस मापन गरिएको छ ।
महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ मा मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।“हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ,” महाशाखाले भनेको छ ।
तिहारसम्म वर्षाको खासै सम्भावना नरहेको मौसमविद् निरौलाले बताइन् । “अहिलेसम्म हामीले हेर्दाखेरि खासै त्यस्तो पानी पर्ने सम्भावना छैन,” उनले भनिन् । तापक्रमको विवरण हेर्नोस्–
