दासढुंगा घटना : श्रीमती राष्ट्रपति, उत्तराधिकारी प्रधानमन्त्री कसले रोक्यो छानविन – डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ३ २०७८
20.3K
SHARES

३ जेठ काठमाडौं । आज तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवन आश्रितको दुर्घटनामा मृत्यु भएको २८ वर्ष पुगेको छ । मदन आश्रितको २०५०जेठ ३ गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनीहरु सवार गाडी त्रिशुलीमा खस्दा दुबै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

एमालेले उक्त दुर्घटनालाई रहस्यमय हत्या भन्दै देशव्यापी आन्दोलन गर्‍यो । दर्जनौंको ज्यान गयो । सार्वजनिक सम्पत्तिको तोडफोड भयो । एमालेले दासढुंगा घटनालाई राजनीतिक ईस्यू बनायो । चुनावी एजेण्डा बनायो ।

दासढुंगा घटनालाई रहस्यमय दुर्घटना भन्ने एमाले त्यसपछिका वर्षमा निरन्तर सत्तामा छ । आफ्नो सरकार बने एक हप्तामै हत्यारा पत्ता लगाउने दावी गर्ने केपी शर्मा ओली दुर्घटनाकै अर्काे वर्ष मन्त्री बने । उनको नेतृत्वमा कार्यदल बन्यो । न उनले कुनै अध्ययन गरे, न प्रतिवेदन दिए । तर पनि आजसम्म पनि एमालेका शीर्ष नेतादेखि कार्यकर्तासम्मले दासढुंगाा दुर्घटना नभई हत्या भएको भन्न छोडेका छैनन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले मदनपत्नी राष्ट्रपति र मदनका उत्तराधिकारी दावी गर्ने ओली शक्तिशाली प्रधानमन्त्री भएकाले उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गर्न सुझाव दिएका छन् ।

भट्टराईले दासढुंगा घटनाको अन्तिम निर्क्यौल गर्न पनि सुझाव दिएका छन् । उनले भनेका छन्, ‘नत्र वहॉहरूको नाउॅमा स्वार्थको रोटी सेक्न छोडौं ।’भट्टराईले दासढृुंगा दुर्घटनाबारे राष्ट्रपति र प्रधानमन्त्रीलाई छानविन गर्न आग्रह गरेका हुन् ।