विभूषण प्राप्त गर्न दरखास्त आह्वान
३ असार काठमाडौं । संविधान दिवसको दिन सरकारका तर्फबाट प्रदान गरिने विभूषण प्राप्तीका लागि अब आवेदन दिन सकिने भएको छ । आफु विभूषित हुन योग्य छु भनेर दावी गर्नेहरुका लागि गृह मन्त्रालयले खुल्ला दरखास्त आह्वान गरेको हो ।
आफूलाई विभूषणको लागि योग्य ठान्नेहरुले यही असार २० गतेभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखि आवेदन दिन सक्ने छन् ।
‘विभूषणका लागि योग्य महानुभावहरुलाई आफूले गरेका योगदानको आधार प्रमाणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न खुल्ला आह्वान गरिएको हो,’ गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने ।
दाहालका अनुसार विभूषणका लागि दाबी प्रमाणसहित प्राप्त निवेदनउपर छानविन गरी असार मसान्त भित्र प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रालयमा पठाइसक्नु पर्ने छ । त्यसपछि गृह मन्त्रालयमा रहेको सिफारिस समितिले विभूषण प्रदानको निर्णयका लागि मन्त्रिपरिषदमा सिफारिस गर्दछ ।
सरकारले हरेक वर्ष संविधान दिवसका दिन देश र समाजका लागि विशिष्ट योगदान पुर्याएका ब्यक्तिहरुलाई विभूषण तथा पदकबाट सम्मान गर्दै आएको छ ।
