सरकारले आफ्नो प्रतिवद्धता पूरा नगरेकोले आक्रोस बढेको छ – नेता लामा


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १३ २०७८
4.7K
SHARES

१३ असार काठमाडौँ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले आफ्नो पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको बताएका छन्।

नेकपा काठमाडौंले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा उनले यस्तो बताएका हुन्। “सरकार र हाम्रो पार्टीबीच भएको तीन बुँदे कार्यान्वयन नहुँदा हाम्रा धेरै नेता कार्यकर्ता जेलमै हुनुहुन्छ। तीन बुँदामा हाम्रो पार्टीले गरेको प्रतिवद्धताअनुसार हाम्रो पार्टी गइरहेकै छ। तर, सरकारले आफ्नो प्रतिवद्धता पूरा नगरेकोले आक्रोस बढेको छ”, लामाले भने।

नेकपाका काठमाडौँ इन्चार्ज समेत रहेका लामाले कार्यक्रममा अहिले नेपालका राजनीतिक पार्टी र सरकार जनताको स्वास्थ्यप्रति गम्भीर हुनुपर्ने बताए। उनले संसदभित्र रहेका पार्टीहरुले जनताको स्वास्थ्यभन्दा सत्ताको लुछाचुडी गरिरहेको बताउँदै अहिलेको व्यवस्थाप्रति निरासा र चिन्ता बढेको बताए। उनले आफ्नो पार्टीले वैज्ञानिक समाजवादमार्फ जनताका सबै खाले समस्या समाधान गर्न खोजेको बताए।

नेपाल रेडक्रसको केन्द्रीय रक्तसंचार केन्द्रमा आयोजना गरिएको कार्यक्रममा करिब २ सय पार्टीका नेता कार्यकर्ता र समर्थक तथा शुभचिन्तकले रक्तदान गरेका थिए। लामाले कोरोनाका कारण राष्ट्र र नागरिकलाई परेको समस्यामा पार्टी पनि सहभागी भएको बताए। उनले केन्द्रीय रक्तसंचार केन्द्रमै रगतमा अभाव हुँदै गएको भन्ने जानकारी पाएपछि रक्तदान आयोजना गरिएको बताए।

“कोरोनाका कारण रगत अभावका कारण नागरिकको ज्यान गइरहेको सुन्नमा आएको छ। राष्ट्र र नागरिकलाई आएको संकटमा सहभागीमा हुन्छौं भनेर पार्टीका नेता, कार्यकर्ता, तथा युवायुवतीहरुको उत्साहजनक सहभागी हुनुभएको छ। कोरोनासँगको लडाइँमा रक्तदानले सहयोग हुनेछ”, उनले भने।

आफ्नो पार्टी जनताप्रति उत्तरदायी भएको हुनाले रक्तदान आयोजना गरिएको लामाले बताए। उनले रक्तदानले नागरिकको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास गरे। “कोभिड–१९ जो विपत्ति खडा गरेको छ, यो विपत्तिसँग लड्न भावनात्मक रुपमा एकता रक्तदानले सहयोग गर्ने विश्वास लिएका छौं”, लामाले भने।

त्यसैगरी नेकपाका काठमाडौँ सेक्रेटरी तुलसीनारायणले रक्तदानमा सहभागी हुने र समन्वय गर्ने रेडक्रसलाई धन्यवाद दिए। त्यस्तै, नेकपाका जिल्ल सचिवालय सदस्य अबिरल चन्दले कोरोना संकटमा आफ्नो पार्टीले जनतासँगै रहेको बताए।

नेकपा निकट अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले रक्तदानमा सहभागी विद्यार्थीलाई धन्यवाद दिए। रक्तदानमा सहभागी भएकामध्ये लोकेन्द्र सार्की, शुसिल पौडेल, रामप्रसाद श्रेष्ठ, नारायण तोलंगु, तिर्थराज तामाङ, इन्दिरा महर्जन, मन्दिरा श्रेष्ठ, राजाराम आलेले आफूहरुले रगत दिन पाउँदा खुशी लागेको बताए। कोरोना संकटमा रगतको अभाग हुँदै गइरहेको पार्टीले रक्तदान आयोजना गरेको भन्दै खुशी व्यक्त गरे।