यी हुन् एमाले बैठकका निर्णयहरू


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १८ २०७८
8.8K
SHARES

१८ असार काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेकपा (एमाले)का सांसदहरुलाई आउँदो सोमबारसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिइएको छ ।

आज बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले देउवालाई दिएको समर्थन सोमबार साँझ ५ बजेसम्म फिर्ता लिन निर्देशन दिएको हो । देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको प्रस्तावमा एमालेका २३ सांसदले हस्ताक्षर गरेका थिए ।

यस्तै, बैठकले कोरोनाभाइरसविरुद्धको खोप अविलम्ब उपलब्ध गराएर सबै नागरिकलाई महामारीबाट बचाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले बाढी–पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विस्थापितहरुको पुनःस्थापनाको लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गरेको छ ।

वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उनको स्वास्थ्य उपचारको जिम्मा लिएकोमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद ज्ञापन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको १०० वर्षको गौरवपूर्ण यात्रा पूरा गरेकोमा बधाई र शुभकामना ज्ञापन गरिएको छ । बैठकले पार्टी एकतालाई सृदृढ गर्न सबै नेता–कार्यकर्तालाई योगदान गर्न आह्वान गरेको छ ।

कोरोनाका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण र संक्रमितको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको ज्ञवालीले बताए । बैठक भोलि दिउँसो ३ बजे पुनः बस्ने उनले जानकारी दिए ।