विधान महाधिवेशनका लागि नेताहरूको जिम्मेवारी प्रदान , बादललाई व्यवास्थापनको जिम्मा


Capital Headline
प्रकाशित मिति : शनिबार, असार १९ २०७८
9.8K
SHARES

१९ असार काठमाडौं। अब नेकपा एमालेले साउन २५ देखि २७ सम्म हुने विधान महाधिवेशनका लागि तयारी गर्न मुख्य नेताहरूको जिम्मेवारी तोकेको छ। शनिबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी दिएको छ। त्यस्तै, महासचिव ईश्वर पोखरेलले महाधिवेशनमा सांगठनिक प्रतिवेदन पेश गर्ने भएका छन्।

बैठकले उपमहासचिव विष्णु पौडेललाई विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मा दिएको छ भने स्थायी कमिटी सदस्य रामवहादुर थापा बादललाई विधान महाधिवेशन व्यवस्थापन कमिटीको जिम्मा दिएको छ। एमालेको नवौं महाधिवेशनले विधान महाधिवेशनको निर्णय गरेको थियो। विधान संशोधन तथा पार्टीको नीति कार्यक्रम र विचारका बारेमा छलफल गर्न विधान महाधिवेशन परिकल्पना गरिएको हो।

दशौं राष्ट्रिय महाधिवेशन अब नेतृत्व चयनका लागि मात्र हुनेछ। पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुँदा व्यवस्थित ढंगले कार्यदिशा, विधान र विचारमाथि छलफल हुन नसकेकाले अब नीतिको बहस विधान महाधिवेशनमा हुने एमाले नेताहरू बताउँछन्।