प्रधानमन्त्री ओलीसँग भेट्न नेता नेपालले अस्वीकार गर्नुभयो – नेता पौडेल
काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन् ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र नेता पौडेलले आइतबार बिहान नेता नेपाललाई भेटेका थिए । भेटमा उनले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुचि नदेखाएको नेता पौडेलले भनाइ छ ।
राष्ट्रियसभाको बैठकपछि संघीय संसदभवन नयाँ बानेश्वरमा नेता नेपालसँगका भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफूले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको तर नेपालले रुचि नदेखाएको बताए ।
“हामी माधव कमरेडकोमा गएका थियाैँ । म सुवास जी र शंकर जी भएर उहाँसँग एकछिन कुराकानी भयो । हामीले पार्टीलाई एकताबद्ध गरेर लिएर जाऔँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरू छैनन् । तपाईंहरू एक आपसमा बस्नुहोस्, हामी पनि आपसमा विभिन्न साथीहरूसँग छलफलमा छौँ । समाधान खोजेर अगाडि जाऔँ । पार्टी अध्यक्ष र तपाईँकोबीचमा मिटिङ होस् हामी त्यो चाहन्छौँ भनेर हामीले प्रस्ताव राख्यौँ । उहाँले खासगरी प्रधानमन्त्रीसँग भेट्नका लागि अरुचि प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुचि राख्नुभएन । ठिकै छ छलफल गर्दे जाऔँ भनेर हामी उठ्यौँ ।