एमाले कार्यदल : यस विषयमा छलफल गर्दै बैठक सम्पन्न
२१ असार काठमाडौं । आज नेकपा एमालेको विवाद समाधानका लागि गत जेठ २ गते बनाइएको कार्यदल पुनः सक्रिय भएको छ । आज मात्रै ब्युँतिएको कार्यदलको बैठक सिंहदरबारमा बसेको थियो । बैठक भोलि पुनः दिउँसो १ बजे बस्ने गरी सकिएको छ । आजको बैठकमा सामान्य कुराकानी भएको नेताहरूले बताएका छन् । बैठकपछि वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहकोतर्फको कार्यदलका संयोजक भीम रावलले आज विषय प्रवेश नभएको जानकारी दिए ।
कार्यदलमा हामी कुनै विषयमा प्रवेश गरेनौँ । तर, हाम्रो पार्टीको आन्तरिक समस्यालाई गम्भीर रूपमा विश्लेषण गरेर समाधानतर्फ हामी सबैले प्रयास गर्ने । त्यसका लागि भोलि पनि बैठक बस्ने निर्णय गरेका छौँ । सम्भवतः भोलिबाट जुन–जुन विषयमा छलफल गर्नुपर्ने हो, त्यस विषयमा छलफल गर्नेछौँ । एमालेलाई कसरी एकताबद्ध बनाउन सकिन्छ, कसरी समाधान गर्ने भन्ने मूल विषय रहेको छ,” रावलले बैठकपछि भने ।
उनले धेरै लामो समयदेखि कसरी राष्ट्र, जनता, लोकतन्त्र लगायतका विषयमा ध्यान दिने भन्ने विषयमा विभिन्न नेताहरूबीच कुरा भइरहेको पनि बताए । अब त्यसै अनुसार कुरा गरेर अघि बढ्ने रावलको भनाइ छ ।
त्यसैगरी कार्यदलका सदस्य गोकर्ण विष्टले पनि आजको बैठक सकारात्मक रहेको बताए । “एमालेभित्र देखिएका अन्तरविरोधको समाधान खोज्न कार्यदलको काम सुरु गरेको छ । हार्दिकताका साथ छलफल सुरु भएको छ । पार्टी भित्रका समस्यालाई पार्टीभित्रै समाधान खोज्ने र निष्कर्ष निकाल्ने छौँ उनले भने ।
यसअघि अनौपचारिक कुराकानीमा भएका र सहमति नजिक पुगेका विषयको रिपोर्टिङ भएको उनले बताए । विष्टका अनुसार अबका बैठकमा सहमति नजिक पुगेका विषयमा समझदारी गर्ने प्रयास हुने छ ।