यस्तो निष्कर्ष निकाल्दै एमाले कार्यदलको बैठक सम्पन्न
२२ असार काठमाडौं।आज नेकपा एमालेको एकता कार्यदलको बैठक सकिएको छ। मंगलबारको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा छलफल भए पनि कुनै सहमति हुन सकेन।
आजको बैठकमा व्यवस्थित ढंगले छलफल भएको कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए। उनले बैठकमा सुझावहरू राख्ने काम भएको र कसरी टुंगोमा पुग्ने भन्ने विधिबारे छलफल भएको बताए। ‘कार्यदलका सबै सदस्यले आ-आफ्नो सुझाव राख्नु भएको छ।
कसरी टुंगोमा पुग्ने भन्ने गरी छलफल अघि बढेको छ,’ विष्टले भने, ‘हिजोभन्दा आज धेरै प्रगति भएको छ। केही विमतिका कुरा थिए। कहाँ-कहाँ विमति छ, त्यसमा कसरी टु्ंगोमा पुग्ने भन्ने गरी छलफल भएको छ।’
नेता विष्टले कार्यदलको बैठक बुधवार पनि बस्ने जानकारी दिए। यसअघि सोमबार सिंहदरबारमा करिब दुई घण्टा छलफल गरेका कार्यदल सदस्यहरू पार्टीका आन्तरिक समस्यालाई निष्कर्षमा पुर्याउनुपर्नेमा एकमत देखिएका थिए। कार्यदलको सोमवारको बैठकमा छलफल भए पनि औपचारिक रूपमा पार्टी विवादबारे विषय प्रवेश भएको थिएन।
पार्टी अध्यक्ष केपी ओलीले एकपछि अर्को गर्दै गैरसंवैधानिक कदम चालेको, विधि, विधान फिटिक्कै नमानेको भन्दै एमाले वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपाल पक्ष रुष्ट छ। संस्थापन पक्षचाहिँ पार्टीलाई साथ दिनुपर्ने बेला विपक्षी गठबन्धनसँग काँध मिलाएको भन्दै खनाल-नेपाल पक्षसँग असन्तुष्ट छ।
यद्यपि पार्टीमा देखिएको विवाद मिलाउन दुवै पक्षका दोस्रो तहका नेताहरूले अनौपचारिक रूपमा छलफल गर्दै आएका थिए। उनीहरूको छलफल मार्फत समाधान हुन नसकेपछि कार्यदलमार्फत सहमतिको गृहकार्य सुरु भएको हो।