यस्तो निष्कर्ष निकाल्दै एमाले कार्यदलको बैठक सम्पन्न
२३ असार काठमाडौं। आज नेकपा एमालेको एकता कार्यदलको बैठक सकिएको छ। बुधवार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा पार्टीभित्र उत्पन्न विवाद समाधानबारे छलफल भएको थियो। बैठकपछि एमाले प्रवक्ता तथा कार्यदल सदस्य प्रदीप ज्ञवालीले आफूहरू सहमति उन्मुख पुगेको बताएका छन्।
उनले भने, ‘कार्यदलका तर्फबाट नेताहरूको विचार र भावना बुझिएको छ। कार्यदलमा छलफल निष्कर्षउन्मुख छ। सम्भवतः भोलि टुंग्याउँछौं।’
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका पाँच/पाँच जना नेताहरू रहेको कार्यदलको बैठक लगातार तीन दिनदेखि बसिरहेको छ।
ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन्। नेपाल पक्षबाट कार्यदलमा नेता भीम आचार्य थप भएका छन्।