चीनबाट आएको खोप यस उमेर समूहलाई लगाइने
२५ असार काठमाडौ । नेपाल सरकारले लामो प्रयासपछि जुलाई महिनाभरमा चीनबाट तीन चरणमा कोभिड–१९ विरुद्धको खोप ल्याउने भएको छ । चीन सरकारसँगको गोप्य सम्झौता (नन डिस्क्लोजर एग्रिमेन्ट)मा कोभिड–१९ विरुद्धको भेरोसेल खोप ल्याउन लागिएको हो । जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार चीनबाट विभिन्न चरणमा खोप खरिद गर्न लागिएको हो ।
जुलाई महिनाभित्र ४० लाख डोज खोप ल्याउने पहल भएको भए पनि खोपको मात्रा यकिन नभएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यद्यपि, प्रधानमन्त्री कपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चीनबाट ४० लाख डोज खोप ल्याइने भन्दै खोप आयातको उडान तालिकासमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
नेपाल वायुसेवा निगमले भने असार २५ देखि साउन ८ गतेसम्म गरी तीन चरणमा आफ्नो जहाज खोप लिन चीनको बेइजिङ जाने जनाएको छ ।
चीनबाट ल्याएको खोप कसले पाउँछन् ?
चीनबाट ल्याउन लागिएको भेरोसेल खोप लगाउने पहिलो प्राथमिकतामा सरकाले ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई राखेको छ । यो उमेर समूहका नागरिकको संख्या १७ देखि झन्डै १८ लाख रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बताए ।
अबको खोपको प्राथमिकतामा सिन्धुपाल्चोक र मनाङका बाढी तथा पहिरो प्रभावित नागरिकलाई पनि राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् ।
वैदेशिक रोजगारी तथा अध्ययनका क्रममा विदेश जान लागेका, नागरिकलगायत विभिन्न पेशागत समूहका नागरिकले आफूहरूलाई खोप उपलब्ध गराउन माग गर्दै आएको भए पनि अहिले उनीहरूको बारेमा कुनै निर्णय नगरिएको डा. पोख्रेल बताउँछन् ।
“कुनै निश्चित स्थानमा संक्रमणले महामारीको रूप लियो अथवा खोप दिनैपर्ने विपत्ति आइलाग्यो भने मन्त्रिपरिषद्को निर्णयमा प्राथमिकता समूह थपिनेछ । अन्यथा अहिलेको प्राथमिकता भनेको उमेर समूह नै हो,” डा. पोखरेलले भने ।
नेपालमा हालसम्म ७ लाख ५८ हजार ४६ जनाले दुवै डोज र २६ लाख ६ हजार ५ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।