माओवादी केन्द्र अवैधानिक पार्टी हो – नेता रायमाझी
२५ असार काठमाडौ । आज नेकपा (माओवादी केन्द्र) का पूर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको भन्दै अवैधानिक भएको आरोप लगाएका छन्।
अहिले माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि अन्य नेताहरूसहित पुगेका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका हुन्।
उनले विगत २९ वर्षदेखि सो पार्टीमा महाधिवेशन नभएको भएपनि २०६९ सालमा एउटा नाम मात्रैको महाधिवेशन भएको र तत्पश्चात पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको बताए ।
उनले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरेको पनि उल्लेख गरे। ‘माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानुन र राजनीतिक दल सम्बन्धी ऐन अनुसार चलिरहेको छैन । एकप्रकारले भन्ने हो भने भूमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ । करिब २८, २९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । त्यसपछि २०७८ सालसम्म अर्को महाधिवेशन त्यो पार्टीले गरेको छैन,’ उनले भने।
नेता रायामाझीले माओवादी विसर्जन भइसकेको बताए। ‘यो ढल्न लागेको पार्टीलाई हामीले एक लाता हानेको मात्र हो’, रायामाझीले भने, ‘एकता भंगगर्नेदेखि लिएर यो कामहरू प्रचण्डले गरे। यो अवैधानिक पार्टी हो।’