एमाले विवाद : सहमतिको दस्ताबेज सार्वजनि हुदै , यस्तो छ सहमति
२६ असार काठमाडौं। आज पनि नेकपा एमालेको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक बस्दै छ। १० दिनदेखि लगातार छलफलमा रहेको नेकपा एमालेको कार्यदलले विवाद समाधानका लागि सहमति नजिक पुगेको दावी गर्दै आएको छ।
कार्यदलले आजै विवाद समाधानको दस्ताबेजमा हस्ताक्षर गरेर सार्वजनिक गर्ने जनाएको छ।पार्टी विभाजनको सम्भावित संकट टार्न एमालेका दोस्रो तहका नेताहरू सम्मिलित १० सदस्यीय कार्यदलले माओवादी केन्द्रसँग एकता हुनुअघिका संरचना क्रियाशील गराउनेलगायतका विषयमा सहमतिको मस्यौदा तयार गरेको जनाएको छ ।
ओली र नेपालबीच बुधबार साँझ भएको छलफलमा ओलीले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए। नेपालले हस्ताक्षर फिर्ता र अदालतमा प्रभाव पार्ने निर्णय मान्य नहुने, विवाद निरुपणका लागि अदालती प्रकरणलाई सर्त बनाउन नपाइने बताएका थिए।
पार्टीभित्रको कोर्स करेक्सन गर्नुपर्ने आवश्यकता रहेको र यस विषयमा ओलीले ठोस प्रस्ताव ल्याउनुपर्ने भन्दै नेपाल बाहिरिएका थिए।त्यसबीचमा कार्यदलमा रहेका नेताले जेठ २ मा पार्टी संरचना फर्काउन कार्यदलमा सहमति भैसकेको जानकारी दिएका थिए।
त्यसैगरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको शक्ति बाँडफाँटको विषय टुंगिएपछि मात्र सहमतिले मूर्त रुप पाउने कार्यदलका सदस्यहरुले जनाएका छन्।