एमाले विवाद : मिल्न त मिल्ने तर कसरी ?
२७ असार काठमाडौं ।अहिले नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहमा केन्द्रीय सदस्यहरुसँग छलफल नगरी हस्ताक्षर नगर्न दबाब बढेको छ ।
सो समूहको शनिबार बेलुका बसेको भर्चुअल बैठकमा पनि अदालतको फैसलामा प्रभाव पार्ने विषयमा आजै सम्झौता गर्न नहुने सुझाव कार्यदललाई बाँकी नेताहरुको थियो । कार्यदलका नेताहरु आइतबार बिहान सिंहदरबारमा जानुअघि पनि नेता नेपालनिवासमा छलफलमा जुटेका थिए ।
“हामीले अझै पनि केही कुरा मिल्न बाँकी रहेको छ भन्ने जानकारी पायौँ तर उहाँहरु (ओली समूह)ले आजै हस्ताक्षर हुन्छ भन्नुहुन्छ,” नेपाल निकट एक नेताले भने, “मिल्न त हामीले पनि कहाँ हुँदैन भनेका छौँ र तर कसरी मिल्ने ?” उनले अदालतको फैसलाअघि नै सम्झौता गर्ने अवस्था नरहेको सुझाव शुक्रबार पनि नेताहरुले दिएको जानकारी दिए ।
“उहाँहरुले तयार पारेको मस्यौदा माधवकुमार नेपाललाई बुझाइएको छ,” उनले भने, “उहाँले पनि केन्द्रीय सदस्यहरुसँग छलफल नगरी कसरी एकलौटी निर्णय गर्न सक्नुहोला र ?”
प्रतिनिधि सभा विघटन सम्बन्धी फैसला सोमबार आउने भएकाले त्यसअघि नै नेकपा एमाले एकढिक्का रहेको सन्देश दिन चाहेको नेताहरुको धारणा छ ।