पुनः एमालेकै सरकार बन्छ – नेता बस्नेत
२९ असार काठमाडौं। नेकपा एमालेको भातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ। सोमबार काठमाडौंमा बसेको युवा संघको बैठकले युथ फोर्स गठन गरेको हो। यस अघि नै गठन गरिएको युथ फोर्सलाई खारेज गरिएको भए पनि पुनः गठन गरिएको छ। ५ सय १ युर्थ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखको जिम्मेवारी पुष्प श्रेष्ठले पाएका छन्।
नेकपा एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्युँताएको नेकपा एमालेका नेता तथा युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले बताए।
एमालेको सिद्धान्त र जनताको बहुदलिय जनवादको रक्षा र विस्तारका लागि युथ फोर्सले महत्वपूर्ण भूमिका खेल्ने नेता बस्नेतले बताए। बस्नेतले युथ फोर्सलाई नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन पनि निर्देशन दिए।
साइबर सेनासँग सहकार्य गरी एमालेविरुद्ध भ्रम छर्नेहरू विरुद्ध सही सन्देश दिने काममा भूमिका निर्वाह गर्न उनले आग्रह गरे।
नेता बस्नेतले केपी शर्मा ओली बुधबार बालकोटस्थित निवास प्रस्थान गर्दा २ हजार वटा गाडी र ३ हजारवटा मोटरसाइकललले स्वागत गर्ने पनि बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र विश्वासको मत लिन नसकी पुनः नेकपा एमालेकै सरकार बन्ने दाबी पनि गरे।