प्रचण्ड र विप्लवबीच भेटवार्ता , यस्ता छन एजेण्डा
३० असार काठमाडौं। आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भइरहेको छ। प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भइरहेको छ। उनी पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुगेका हुन्। उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ।
विप्लव नेतृत्वको नेकपाले नवगठित शेरबहादुर देउवा नेतृत्वको सरकारसँग तीन बुँदे सहमति कार्यान्वयनका लागि आग्रह गरेको थियो। नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले यसअघिको सरकारसँग भएको तीन बुँदे सम्झौता कार्यान्वयनलगायत विषयमा पुनः एक पटक राजनीतिक भेटघाट गर्ने पार्टीले निर्णय गरेको बताएका थिए।
‘सहमति कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा आजको बैठकमा छलफल भयो,’ बास्तोलाले भने, ‘सरकार र हाम्रोबीचमा भएको सहमति कायान्वयन गर्न नयाँ सरकारलाई आग्रह गर्ने निर्णय भएको छ। फेरि राजनीतिक भेटघाटलाई अघि बढाउने कुरा भएको छ।’
गत फागुनमा केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग चन्द नेतृत्वको नेकपाले सरकारसँग तीन बुँदे सहमति गरेको थियो। सम्झौतापछि चन्द नेकपामाथिको प्रतिबन्ध हटाए पनि हिरासतमा रहेका नेकपाका सय बढी कार्यकर्ता अझै छुटेका छैनन्। दुई हजारमाथिको मुद्दासमेत फिर्ता भएको छैन।