यी हुन् माओवादीबाट मन्त्री बन्ने सम्भावित नेताहरु
२ साउन काठमाडौ । अहिले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र)बाट २ जना मन्त्री नियुक्त भइसकेका छन्। जसमा अर्थमन्त्री जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल छन्। उनीहरुले प्रधानमन्त्री देउवाले शपथ लिएकै दिन पद तथा गोपनीयताको शपथ लिएका थिए।
अरु को बन्दैछन् माओवादीबाट मन्त्री?
प्रधानमन्त्री देउवाले एक महिनाभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने भएकाले उनले विश्वासको मत लिएपछि मात्र सरकारमा जाने तयारी माओवादीले गरेको छ। तर, माओवादीभित्र देउवा सरकारमा सहभागी हुने सम्भावित मन्त्रीलाई लिएर चर्चा भने चुलिएको छ।
माओवादीले प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्र सरकारमा जाने तयारी गर्नुको कारण छ। त्यो हो– एमालेमा भइरहेको एकताको प्रयास। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सहमति हुने वा नहुने टुंगो नलागेकाले मन्त्रालय भागवण्डामा पनि समस्या भइरहेको छ। संविधानमा बढीमा २५ जनाको मात्र मन्त्रिपरिषद् बनाउन पाउने व्यवस्था भएकाले त्यसलाई उल्लंघन गर्न मिल्दैन।
माओवादीले सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुनेगरी मन्त्री बनाउने तयारी गरेको छ। जसअनुसार स्थायी समितिमा रहेका नेताहरुमध्येबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायतको नाम मन्त्रीका रुपमा चर्चामा छ।
यीमध्ये श्रेष्ठले उपप्रधानमन्त्रीसहित सरकारमा जाने इच्छा देखाएको माओवादी स्रोत बताउँछ। गजुरेल र पौडेललाई प्रचण्डले यसअघि नै मन्त्री बनाउने प्रयास गरे पनि त्यसमा सफल भएका थिएनन्। त्यहीकारण यसपटक गजुरेल, पौडेल र गुरुङको नाम मन्त्रीका लागि चर्चामा छ। तर, गुरुङले भने श्रीमती यशोदा सुवेदीलाई मन्त्री बनाए आफ्नो दाबी छाड्न सक्ने बताइन्छ।
मधेशबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ। यादवले यसअघि अवसर पाइसकेकाले मोदी र मण्डलमध्ये एक जना मन्त्री हुने सम्भावना बलियो छ। महिलाबाट पम्फा भुसाल मन्त्री भइसकेकाले अब बढीमा २ जना महिला नेताले मन्त्री हुने अवसर पाउने बताइन्छ। त्यसो भएमा जयपुरी घर्ती, अन्जना विशंखे र शशी श्रेष्ठमध्येबाट मन्त्री हुने बढी सम्भावना छ। नारायणकाजी श्रेष्ठ मन्त्री नभएमा उनको समूहबाट अन्जना बिशंखे र शशि श्रेष्ठमध्ये एक जना मन्त्री हुन सक्ने देखिएको छ। नारायणकाजी मन्त्री भएमा चाहिँ जयपुरी घर्तीको मन्त्री बन्ने सम्भावना बलियो छ।
यसबाहेक सुदन किराती, सन्तकुमार थारु र महेश्वर गहतराजको नामसमेत मन्त्री हुने चर्चामा रहेको माओवादी केन्द्रका एक नेताले बताए।