म ठाकुर समूहमा छैन – नेता साह


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २ २०७८
3.3K
SHARES

२ साउन काठमाडौं।आज  जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रमोद साहले आफू जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पक्षमा नरहेको स्पष्ट पारेका छन्।

सर्लाही -१ बाट प्रत्यक्ष निर्वाचित साहले ठाकुर र महतोले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीलाई साथ दिएकाले आफू त्यो समूहमा नरहेको बताए।

‘मैले प्रतिनिधिसभा विघटन भएपछि नै उहाँहरूको साथ छोडेको हो। प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि म जसपा अध्यक्ष उपेन्द्र यादवले बोलाउनुभएको संसदीय दलको अनौपचारिक बैठकमा गएको हो,’ उनले भने, ‘ठाकुर र महतोको एजेण्डा समेत पराजित भएको छ। उहाँहरू पुरानो विचार बोक्नेहरूको साथमा हुनुहुन्छ।’

साहले आफूलगायत आधा दर्जन सांसदले ठाकुर-महतो समूह छोडेको दाबी गरेका छन्। शनिबारको बैठकमा साहसहित ५ जना ठाकुर-महतो समूहका सांसद सहभागी थिए। सर्लाहीबाट निर्वाचित साह पूर्व राष्ट्रिय जनता पार्टीका हुन्।