एमाले छोड्नुहोस् , पुत्ला जलाउँदैनौँ – नेता बस्नेत
५ साउन काठमाडौ । एमालेको ओली समूहका नेता महेश बस्नेतले माधवकुमार नेपाललाई एमालेमा बस्न नचाहेको खण्डमा छाडेर जान सक्ने बताएका छन् ।
आज काठमाडौंमा राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलामा बोल्दै पार्टीमा बस्न नचाहेको खण्डमा छाडेर जान सक्ने र सम्मानजनक विदाई गरिने उनले बताए ।
नेता नेपाललाई बस्नेतले सुझाव दिँदै भने, ‘तपाईं एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोड्नुहोस्, हामी पुत्ला जलाउँदैनौँ । तपाईंलाई सम्मानजनक तरिकाले बिदाई गर्छौं ।’ नीति र विधिको कुरा गरेर पार्टी हितविपरीत काम गर्दै पार्टीमा बस्न नसुहाउने नेता बस्नेतको तर्क छ ।
उनले भने, ‘साँच्चिकै विधि, पद्धति र नीतिको कुरा गर्ने हो भने तपाईं एमाले छोडेर जान सक्नुहुन्छ, एमाले फोर्न सक्नुहुन्छ । तर, एमालेमै बसेर एमालेको हितविपरीत काम गर्न पाउनुहुन्न ।’ नेता नेपाललाई पार्टीबाट निस्कन सुझाव दिएपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा बढाइएको बारे पनि खण्डन गरेका छन् ।
प्रचण्ड आफूहरुसँग डराएर डीएसपीको नेतृत्वमा २७ जना सुरक्षाकर्मी थपेको भन्दै त्यसको खण्डन गरे ।
उनले भने, ‘जुन कुकुर डराउँछ, त्यही कुकुर भुक्छ भन्ने उखान छ । हाम्राविरुद्ध षड्यन्त्र गरेर असंख्य भाषण गर्ने कमरेड प्रचण्ड, हामी तपाईंसँग डराएका छैनौँ। तपाईं डराउनुभयो भन्ने प्रमाण यही हो सुरक्षा थ्रेट ।’