नयाँ सरकार बनेपछि अपराधिहरु बालुवाटार वरिपरि – नेता पण्डित


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १४ २०७८
15.7K
SHARES

१४ साउन काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकार जनताको विपक्षमा उभिएको दाबी गरेका छन् । पहिलो निर्णयले नै भूमि आयोग खारेज गरेर गरिब जनताको विपक्षमा सरकार रहेको प्रष्ट देखिएको उनले बताए ।

पूर्वमन्त्रीसमेत रहेका पण्डितले देउवा निर्दलिय रुपमा सर्वोच्च अदालतको फैसलाबाट प्रधानमन्त्री भएको बताउँदै देउवालाई बधाई दिएका छन् ।

यस्तो अभ्यासले बहुदलीय प्रतिष्पर्धामा आधारित नेपाली जनतामा निराशा उत्पन्न गर्ने पण्डितको भनाइ छ । उनले निजी क्षेत्र सफल हुँदैमा सिंगो देश नै सफल भएको ठान्नु सरकारको गल्ती हुने औंल्याए ।

‘फेरि पनि गलत भएको छ भने सच्चिने स्थिति हुन्छ । अहिले जुनबाटोबाट प्रधानमन्त्री हुनु भएको छ यो प्रत्येक घर घरमा छलफलको विषय भएको छ । नेपालको यस्तो परिपाटीप्रति अन्तर्राष्ट्रिय जगतले औंलो ठड्याउन सक्छन् । भूमि आयोग खारेज गरेर अहिलेको सरकारले जनताको भावनाअनुसार काम गरेको छैन,’ पण्डितले भने, ‘आफूले गरेका प्रतिवद्धता पुरा गर्न सरकार प्रतिवद्ध नभएको देखिएको छ । पहिले पनि कांग्रेसले सुकुम्बासी आयोग खारेज गरेको थियो । नागरिकता विधेयक चाँडो पारित होस् ।’

अहिलेको सरकार गरिब जनताको पक्षमा नरहेको तर व्यापारी र अपराधीको संरक्षक भएको आरोप लगए । ‘यो सरकार बनेकै भोलिपल्ट जेलबाट अपराधी छुटेका छन् । अपराधिहरु बालुवाटार वरिपरि पुग्ने क्रम सुरु भएको छ । यस्तो नहोस्,’ पण्डितले सरकारको ध्यानाकर्षण गराए ।