अब मास्क नलगाउनेलाई यस्तो हुँदैछ कारबाही
१९ साउन काठमाडौं। काठमाडौं उपत्यकामा भीडभाड रोक्नको लागि अनुगमन गरिने भएको छ। कोरोना सङ्क्रमण बढिरहे पनि भीडभाड नरोकिएपछि काठमाडौं उपत्यकामा अनुगमन हुने भएको हो।
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमनका लागि निषेधाज्ञा अनुगमन समिति गठन भएको छ। समितिले आजैदेखि उपत्यकामा अनुगमन थाल्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
बढी भीडभाड हुने क्षेत्र र सार्वजनिक गाडीलाई प्राथमिकतामा राखेर अनुगमन हुने उनले बताए। अनुगमनका क्रममा मास्क नलगाइएको पाइए कारबाही हुने पनि उनले बताए।
उनले भने, ‛मास्क नलगाएकाहरुलाई पहिला मास्क लगाउन प्रोत्साहन गर्छौँ, तर फेरि अटेर गरेको पाइए कारबाही हुन्छु।’ यस्तै, कोरोना रोकथामका लागि भन्दै काठमाण्डौ उपत्यकामा फेरि निषेधाज्ञालाई लम्ब्याउने तयारी भएको छ।
बुधबार बस्ने उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा बारे निर्णय गर्नेछ। काठमाडौं उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि बुधबार सकिँदै छ।