पार्टी एकता बारे नेता नेपालले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
7.3K
SHARES

३१ साउन काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि आफूले अझै पर्खिरहेको बताएका छन्। वाग्मती प्रदेशका नेता कार्यकर्तालाई शनिबार सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।

उनले पार्टीमा एकताका लागि अझै पनि कोसिस गर्ने स्पष्ट पारे। उनले एकताका लागि सबै ढोका बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने पनि बताए। वरिष्ठ नेता नेपालले निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिका आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरू तयार रहेको बताए। ‘एकता हाम्रो चाहना हो, इच्छा हो।

हाम्रो इच्छा र चाहना विभाजन होइन तर एकताका लागि सबै ढोका बन्द भए भने, सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टी पुनर्गठन गर्ने जिम्मेवारीबाट हामी पछि हटनु हुँदैन तर त्यो अन्तिम उपायमात्रै हुनेछ। अझै पनि कोसिस गरौं, अझै पनि केपीलाई सुधार्ने कोसिस गरौं।

केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी एकताका लागि अन्तिम पर्खाइमा रहेका छौं,’ नेपालले भने।

नेता नेपालले पार्टी एकताका लागि आफूहरूले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराए स्मरण गराए। उनले संविधानको रक्षा गर्न, प्रतिगमन हुन नदिन र लोकतन्त्रको रक्षा गर्न आफूहरूले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनु परेको बताए। उनले केही सांसद मन्त्री हुन दाम्लो चुँडाएर जान खोजे पनि आफूले रोक्दै आएको बताए।