ओलीसँग ‘वान टु वान’ वार्ता गर्न नेता भुसाल बालकोटमा
२ भदौ काठमाडौं। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि बालकोट पुगेका छन्। पार्टीमा असन्तुष्ट नेता माधव नेपाल पक्षमा खुल्दै आएका भुसाल सरकारले दलसम्बन्धी अध्यादेश सिफारिस गरेलगत्तै एमाले विभाजन रोक्न सक्रिय बनेका थिए।
बुधबार नेपाल पक्षका नेताहरू नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाँदा भुसालले एमाले एकताका लागि अन्तिम प्रयास गर्न नेपालसँग आग्रह गरेका थिए। नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवाद) पार्टी दर्ता भइसकेपछि बुधबार साँझ भुसालले ओली निवास बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेका छन्। ओलीसँग ‘वान टु वान’ कुरा गर्ने भन्दै भुसाल बालकोट पुगेको ओलीनिकट एक नेताले जानकारी दिए।
भुसालले मंगलबार पनि ओलीलाई भेटेर नेपालसहित १४ जनामाथिको कारबाही फिर्ता लिएर लचकता अपनाउन आग्रह गरेका थिए। एमाले विभाजन रोक्न सक्रिय रहेका दोस्रो तहका नेताहरूको तर्फबाट भुसालले ओलीसँग १० बुँदे सहमति कार्यान्वयन गर्दै अझै पनि एमाले विभाजन रोकेर नेपाललाई फर्काउन सुझाव दिन बालकोट गएको विघटित कार्यदलका एक नेताले बताए।
नवौं महाधिवेशन हुँदै नेकपा कालदेखि नै नेपाललाई साथ दिँदै आएका नेपाल पक्षका पदाधिकारी र स्थायी कमिटी सदस्यहरूले पार्टी विभाजन नगर्न नेपाललाई आग्रह गरे पनि नेपाल स्थायी कमिटीका थोरैमात्र संख्याका नेताका साथमा नयाँ पार्टीको अध्यक्ष बनेका छन्।
नेपाल पक्षमै खुल्दै आएका योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, भीम रावल, भीम आचार्यलगायत दोस्रो तहका नेताले पनि नेपाललाई साथ दिएका छैनन्। १० बुँदे सहमतिको कार्यान्वयन गराउँदै एमाले एकता गर्ने पक्षमा रहेका नेताहरूको तर्फबाट भुसालले ओलीसँग वार्ता गरेका हुन्।