सहमति कार्यान्वयन नभए कठोर कदम चाल्ने चेतावनी


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र ५ २०७८
7.9K
SHARES

५ भदौ काठमाडौं। विभाजनमा माधव नेपाललाई साथ नदिएका एमालेका केन्द्रीय सदस्य र सांसदहरूले पार्टी एकताको प्रयास जारी राख्ने निष्कर्ष निकालेका छन्।

शुक्रबार बसुन्धराको एक होटलमा भएको भेलामा उनीहरूले एमालेको एकता नै अहिलेको सर्वोपरि आवश्यकता भएको ठहर गरेका हुन्। भेलामा नेपाल पक्षमा रहँदै ५७ जना केन्द्रीय सदस्य एवं सांसदहरू उपस्थिति थिए।

कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको नेता गोकर्ण विष्टले जानकारी दिए। ‘हामी एमाले एकताका पक्षधर हौं। हामी पार्टी एकताका लागि प्रयासरत छौं।

आजको भेलाबाट दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गर्ने, १० बुँदे सहमति कार्यान्वयनका लागि आग्रह गर्ने, माधव नेपालसहितका नेताहरूलाई दल दर्ताको प्रक्रियाबाट फर्किन आग्रह गर्ने निष्कर्ष निकालेका छौं,’ उनले भने।

एक नेताका अनुसार बैठकले १० बुँदे अक्षरशः कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिने अल्टिमेटम दिएको छ। सहमति कार्यान्वयन नभए विद्रोह गर्ने र यो माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो क्षति हुने उनीहरूको दाबी छ। ती नेताले भने, ‘अब धेरै अलमल स्वीकार्य छैन। यदि तत्काल सहमति कार्यान्वयन भएन भने एमालेमा विद्रोह गर्छौं।’

बैठकमा सहभागी अर्का नेता राजबहादुर बुढाले केपी ओलीले निर्णय गर्ने तर, कार्यान्वयन गर्दैनन् भन्ने माधव नेपालको भनाइ सही रहेको निष्कर्ष आजको बैठकले निकालेको बताए। ‘केपी ओलीले निर्णय गर्छन् कार्यान्वयन गर्दैनन् भनेर भन्ने माधव नेपालको भनाइ त सही रहेछ भन्ने कुरा आजको छलफलमा भयो,’ उनले भने, ‘१० बुँदे कार्यान्वयन गर्ने विषयमा ठ्याक्कै यस्तै भएको त छ।

ओलीले यता निर्णय गर्ने उता तल्लो तहसम्म एकलौटी रूपमा संगठन तयार पार्ने यसरी पार्टी एक गर्न सक्ने कुरा भएन। त्यसैले हामीले कार्यदलले तयार पारेको बुँदा कार्यान्वयन नगर्ने हो भनेर केही कठोर निर्णय लिनै पर्छ भन्नेबारे छलफल गर्‍यौं।’