नेता गौतम एमालेमै
६ भदौ काठमाडौ । आज नेता वामदेव गौतम एमालेमै रहेको उनको सचिवालयले प्रस्ट्याएको छ । एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको छ ।
विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितको ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन,’ स्वकीय सचिव दीपक टमाटाले लेखेका छन्, ‘क. वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको र नेकपा एमाले नेतृत्वको कार्यशैली प्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो।’बजारमा भइरहेको प्रचारप्रसारमा कुनै सत्यता नरहेको पनि उनले प्रस्ट्याएका छन्।
गत साता मात्रै गौतमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठन गर्न लागेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो समर्थन रहने जनाएका थिए। यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएपछि गौतमले स्थायी कमिटी बैठक बहिष्कार गरेका थिए।