नेपालको उद्देश्य एमाले सिध्याउने थियो – नेता पोखरेल
६ भदौ काठमाडौं। एमालेका महासचिव ईश्वर पोखरेलले अब महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ को अगुवा कार्यकर्ता भेलामा पोखरेलले अब महाधिवेशन र स्थानीय चुनावलाई लक्षित गरेर गतिविधि सञ्चालन गर्न निर्देशन दिएका हुन्।
उनले माधव नेपालको माओवादीकरण र जसरी पनि एमाले सिध्याउने उद्देश्य रहेका कारण एउटा सानो समूह पार्टीमा अटाउन नसकेर बाहिरिएको बताए। पोखरेलले पार्टी आमरूपमा एक ढिक्का रहने र १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने बताए।
अब एमालेको दशौं महाधिवेशन र स्थानीय चुनावलाई केन्द्रित गरिने र पार्टी अझ बलियो बन्ने र लाखौं लाख नयाँ मान्छेहरू थपिने दाबी उनको थियो।
विधान महाधिवेशनका लागि प्रस्तावित विधान मस्यौदामा सुझाव संकलन गर्न आयोजित भेलामा क्षेत्रीय संयोजक तथा प्रदेश सभाका प्रमुख सचेतक दीपक निरौला, बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलगायत जिल्ला र नगर कमिटीका पदाधिकारीहरूको सहभागिता थियो।
भेलामा केन्द्रीय सदस्य तथा काठमाडौं सह इन्चार्ज नारायण सिलवाल र दीपक निरौलाले सदस्यता विवरण, नवीकरण र स्थानीय तहका निर्वाचनलक्षित कार्यक्रम अघि बढाइने बताए।