नेपाल समूह फर्कन्छन् भने कारवाही फिर्ता हुन्छ – अध्यक्ष ओली
७ भदौ काठमाडौं। अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नयाँ पार्टी खोल्ने प्रक्रियाबाट फिर्ता हुने भए कारवाही फिर्ता लिन सकिने बताएका छन्।
सोमबार पार्टी विभाजनमा तटस्थ बसेका एमालेका स्थायी कमिटीका नेताहरूसँगको बैठकमा ओलीले यस्तो बताएका हुन्।
पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएका दोस्रो पुस्ताका नेताहरूले आज ओली निवास बालकोटमा ‘निर्णायक’ वार्ता गरेका थिए।
उक्त छलफलमा यसअघि माधव नेपाल निकट भनिएका नेताहरूले १४ जनामाथि गरिएको कारवाही फिर्ताको विषय उठाएका थिए।
अध्यक्ष ओलीले स्थायी कमिटीका नेताहरूलाई माधव नेपाल नयाँ पार्टी दर्ताको प्रक्रियाबाट फर्कन्छन् भने कारवाही पनि फिर्ता हुने बताएको एमालेका सचिव एवं स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए।
‘एकताको भावमा गएपछि कारवाही, प्रतिशोध, दण्ड सजाय भन्ने कुरा सान्दर्भिक हुँदैनन् भनेर अध्यक्ष कमरेडले भन्नुभएको छ,’ भट्टराईले भने। बालकोट बैठकले अब माधव नेपाल एमालेमा नफर्कने निष्कर्ष निकालेको थियो।
‘बैठकमा सहभागी नेताहरूले माधव नेपालले अलग्गै बाटो हिँड्न संकल्पित गरेकाले अब उहाँ एमालेमा फर्कनुहुन्न भन्ने निष्कर्ष निकाल्नुभयो,’ बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने।
यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरू सहमति नजिक पुगेका छन्। अध्यक्ष ओलीको निवासमा सोमबार भएको छलफलमा यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि भोलि मंगलबार नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति भएको छ।
ओलीसँगको छलफलपछि नेकपा एमालेका सचिव समेत रहेका गोकर्ण विष्टले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएको बताए।
‘भोलि बस्ने स्थायी समिति बैठकमार्फत कसरी अघि बढ्ने भन्ने रुपरेखा तयार गर्छ। आज भएको छलफलमा अध्यक्ष र महासचिव दुवैले १० बुँदेलाई कार्यान्वयन गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो’, विष्टले ‘अहिले नै कुरा मिल्यो भनिहाल्न त मिल्दैन तर सकारात्मक वातावरण बनेको छ।’