पार्टी परिवर्तन गर्दिनँ – मुख्यमन्त्री शाक्य
११ भदौ मकवानपुर। आज बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एकहप्ताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएकी छन्। मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषदलाई पूर्णता दिन आन्तरिक छलफल सुरु गरिसकेको जानकारी दिइन्।
उनले भनिन्, ‘पार्टीलाई एकताका लागि मैले मुख्यमन्त्रीको पद समहालेको हुँ। एकताका लागि दबाब दिन एकहप्ता काठमाडौं बसेर हेटौंडा आइपुगेको छु। अब मन्त्रिपरिषद्ले पूर्णता पाउँछ। त्यसका लागि आन्तरिक छलफल सुरु गरिसकेको छु।’
शाक्यले आफू सत्तामा टिक्नकै लागि पार्टी परिवर्तन नगर्ने बताएकी छन्। ‘मैले एमाले पार्टीको विभिन्न जिम्मेवारीमा बसेर काम गरेको छु। दल परिर्वतन गर्ने मनस्थितिमा छैन। सरकार ढल्छ भन्ने पनि चिन्ता छैन।
मुख्यमन्त्री जोगाउन पार्टी परिवर्तन गर्दिन। त्यो काम मबाट हुँदैन,’ उनले भनिन्, ‘पद पाएपनि नपाएपनि यही पार्टीमै रमाउँछु। दायाँ-बायाँ गर्दिन।’
१ सय ९ सदस्यीय बागमती प्रदेशसभामा एमालेको सभामुखसहित ५६ सांसद छन्। सरकार गठनका लागि ५५ सांसद चाहिन्छ। तर, आधा दर्जनभन्दा बढी सांसदहरु एमाले विभाजन भएर नवगठित नेकपा (एकीकृत समाजवादी) मा संलग्न भएपछि शाक्यको पद धरापमा परिसकेको छ।
शाक्यले आफ्नो फरक मत एमालेमै राख्ने र वैचारिक संघर्ष गरिरहेन बताइन्। ‘मैले २०२८ सालबाट समर्पण, त्याग र नैतिकताको राजनीतिक गरेको हुँ। पद र सत्ताको लागि राजनीति गरेको होइन। म फुटको पक्षमा छैन। नयाँ पार्टीमा हस्ताक्षर गर्न सक्दिन। मैले यस विषयमा माधवकुमार नेपाललाई जानकारी गराइसकेको छु,’ उनले भनिन्।