वाइसिएलको नेतृत्व छान्ने जिम्मा प्रचण्डलाई , कसले मार्लान बाजी ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८
3K
SHARES

१५ भदौ काठमाडौं । सत्ता गठबन्धन मध्येको दल नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपाल नेतृत्व चयन गर्न असफल भएको छ ।

नयाँ नेतृत्व चयनका लागि भदौ १२ देखि भर्चुअल विधिबाट काठमाडौंमा जारी वाइसिएलको राष्ट्रिय भेलाले नेतृत्व चयन गर्न नसक्नुको दोष पार्टी नेतृत्वलाई दिइएको छ ।

नयाँ नेतृत्व चयन गर्दै भदौ १३ गते नै भेला सक्ने योजना थियो । तर अझै पनि नेतृत्वले टुंगो नलाग्दा प्रतिनिधिहरु अन्योलमा छन् ।

पार्टी नेतृत्वका कारण नेतृत्व चयन हुन नसकेको वाइसिएलका नेताहरुले आरोप लगाएका छन । उनीहरुले पार्टी नेतृत्वले अनिर्णयको बन्दी बनाएको नेताहरुले गुनासोसमेत गरेका छन् ।

कार्यकर्ताहरुलाई आफ्नो नेतृत्व आफैं चुन्न पनि नदिने र नेताहरुले पनि नचुनिदिंदा आफूहरु अन्योलमा परेको वाइसिएल नेताहरुले गुनासो गरेका हुन । माओवादी केन्द्रका नेताबाट पनि संगठनात्मक क्षेत्रमा पार्टीको तदर्थवादी प्रवृत्ति देखिएको भन्दै टिप्पणी सुरु भएको छ ।

वाइसिएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुबोध सेर्पालीको दाबी रहेको छ । सहमतिमा अध्यक्ष चयन गर्ने भनिए पनि सहमति जुट्न नसकेपछि नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

हालका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) ले देवकोटालाई प्रस्ताव गरे पनि सेर्पाली सहमत भएका छैनन् । सहमति नजुटेपछि वाइसिएलले आफ्नो नेतृत्वको चयन गर्न अध्यक्ष प्रचण्डको शरणमा पुगेको हो ।

भेलामा काठमाडौंसहित सातवटै प्रदेशबाट गरी करिब सात सय प्रतिनिधिहरु सहभागी छन् । नेतृत्व चयनमा ढिलाइ हुँदा प्रतिनिधि व्यवस्थापनमा कठिनाइ भइरहेको वाइसिएलका प्रवक्ता पुष्प ओली बताए ।