यमपञ्चक सुरू : आज काग र कुकुर तिहार


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १७ २०७८
18.3K
SHARES

१७ कात्तिक काठमाडौं । हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महान चाड तिहारको आज पहिलो दिन । आजदेखि यमपञ्चक सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँच दिन यमराज आफ्ना सबै काम छाडेर बहिनी यमुनाकोमा अतिथिका रुपमा बस्ने धार्मिक मान्यता रहेकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ ।

यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर आज काग तिहार मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । आज बिहान ९ बजेर २२ मिनेटसम्म मात्र त्रयोदशी तिथि रहेकाले यस समयभित्र कागको पूजा गरिसक्नु पर्नेछ ।

कागलाई सन्देश वाहकको रुपमा हेरिने भएकाले शुभ सन्देशको अपेक्षा गर्दै कागको पूजा गरिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्तसमेत हो ।

आज घरमा पाकेका सबै परिकारहरू दुना, टपरी, पातमा राखेर कागलाई घरको कौसी वा आँगनमा का…का….का…भन्दै बोलाएर खान दिइन्छ ।

धर्मशास्त्रअनुसार यमराजले राखेको मानिसको जन्म मृत्युको विवरण पृथ्वीसम्म ल्याउने र लैजाने काम कागले नै गर्ने मान्यता रहेको छ ।

त्यसैगरी आज बिहान ९ बजेर २२ मिनेटपछि चतुर्दशी तिथी सुरु हुने भएकाले कुकुर तिहार पनि आजै परेको छ ।

इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।