खुल्यो निवेदन : १० हजार राहत रकम कसले पाउॅंछन् ?
२५ कात्तिक काठमाडौ । नेपाल सरकारले कोभिड महामारीका कारण समस्यामा परेका अति विपन्न परिवारलाई राहत रकम उपलब्ध गराउन निवेदन पेस गर्न आह्वान गरेको छ । सरकारले देशभरका अति विपन्न ५ लाख परिवारलाई राहतस्वरुप एकपटकका लागि १० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन विधेयकमार्फत गरेको थियो ।
बिहीबार अर्थ मन्त्रालयले एक सूचना सार्वजनिक गरी कोभिडका कारण आयआर्जनको स्रोत गुमाएका विपन्न परिवारलाई एकपटकका लागि रु. १० हजार राहतस्वपरु वितरण गरिने भएकाले त्यसका लागि रीतपूर्वक आवेदन दिन आह्वान गरेको छ । उक्त राहत प्राप्त गर्न १५ दिनभित्र आफू स्थायी वा अस्थायी रुपमा बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।
रोजगारी पूर्ण रुपमा गुमाएका र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोजगार भएका असंगठित क्षेत्रका मजदुर वा कामदारले राहत पाउनेछन् । खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला-मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर र पर्यटक भरियालाई पनि उक्त राहत रकम सरकारले उपलब्ध गराउनेछ ।
कोभिड संक्रमणका कारणबाट एक घरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नुपरेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारले समेत राहत पाउनेछन् ।
सरकारले एकाघर परिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै संघसंस्था वा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आयआर्जन गरिरहेका परिवारलाई भने राहत दिनेछैन । परिवारको कुनै सदस्यले नेपाल सरकारबाट उपलब्ध हुने अन्य सामाजिक सुरक्षाबापतको भत्ता वा नेपाल सरकार तथा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्थाबाट निवृत्तिभरण वा विदेश सरकारबाट पेन्सन सुविधा प्राप्त गरिरहेकाहरुले पनि यो राहत रकम पाउने छैनन् ।

सरकारले कुन स्थानीय तहका कति परिवारलाइ राहत रकम उपलब्ध गराउने भनेर यसअघि नै संख्या ताेकिसकेकाे छ ।