आज प्रधानमन्त्री बंकरसहितको नयाँ भवनमा सर्ने
२७ मंसिर काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास आज नयाँ भवनमा सर्ने भएको छ । ४० करोड लागतमा निर्माण गरिएको नयाँ भवन आधुनिक सुरक्षा संरचनाले युक्त भएको बताइएको छ । बालुवाटारमा निर्मित नयाँ भवनमा सुरक्षा प्रयोजनका लागि बंकरसमेत निर्माण गरिएको छ ।
आज विशेष वास्तु पूजा गरी प्रधानमन्त्रीको निजी निवास नवनिर्मित भवनमा स्थानान्तरण हुन लागेको हो । बालुवाटारमा रहेको पुरानो संरचनालाई भत्काएर प्रधानमन्त्री निवासका लागि दुईवटा भवन निर्माण गरिएका छन् । तीमध्ये एउटा भवन प्रधानमन्त्रीको निजी निवासका लागि र अर्को सार्वजनिक भवनका रूपमा प्रयोग हुनेछन् । २०७२ वैशाख १२ को भूकम्पले पुरानो भवनमा क्षति पुर्याएपछि त्यसलाई भत्काएर नयाँ बनाइएको हो।
निजी निवास भवन निर्माण सम्पन्न भइसकेको छ भने सार्वजनिक भवन निर्माण अन्तिम चरणमा पुगेको सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ । विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख दिलीपशेखर श्रेष्ठले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा निर्माण भइरहेका दुईवटा भवनमध्ये प्रधानमन्त्रीको निजी निवास भवनको निर्माण सम्पन्न भइसकेको जानकारी दिए । यस भवनलाई प्रधानमन्त्री तथा उनका परिवारको आवास प्रयोजनका लागि प्रयोग गरिनेछ ।
सार्वजनिक प्रयोजनका लागि निर्मित भवनको भौतिक प्रगति ८५ प्रतिशत भएको छ । सो भवन असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आगन्तुकसँग भेटघाटका लागि सार्वजनिक भवन प्रयोग गरिनेछ । सार्वजनिक भवनमा मिनी क्याबिनेट चलाउन मिल्ने हल, बैंक्वेट हल र प्रेस सेन्टर रहनेछन् । दुबै भवन तीन तले बनाइएका छन् ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ भदौ १२ गते निर्माण सम्झौता भएको थियो । दुईवटै भवनको कुल लागत ४० करोड रुपैयाँ रहेको बताइएको छ । निर्माणको जिम्मा पाएको कन्टेक प्रालिले सम्झौताअनुसार २०७८ भदौ १५ मा काम सम्पन्न गर्नुपथ्र्यो तर सरकारले कोभिड महामारीको कारण ६ महिना अवधि थप गरेको थियो ।