भीम रावललाई स्पष्टीकरण सोध्नु पर्छ – महेश बस्नेत
१० फागुन काठमाडौं। एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको निर्णयविपरीत संसदमा आफ्ना धारणा राखेको भन्दै नेता भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल कैलालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले संसदको नियमविपरीत रावललाई बोल्न दिइएकोमा सभामुखसँग पनि आपत्ति जनाए । ‘शून्य समयमा सांसदले आफ्ना धारणा राख्न पाइने व्यवस्थाविपरीत सभामुखले भीम रावललाई बोल्न दिएका छन्,’ बस्नेतले भने, ‘यो आपत्तिको विषय हो, रावलले पनि पार्टीको निर्णय विपरित संसदमा बोलेका छन्, यस विषयमा पार्टीको संसदीय दलमा पनि गुनासो छ, उहाँलाई स्पष्टीकरण सोधिनु पर्दछ ।’
नेता बस्नेतले सभामुख अग्निप्रसाद सापकाेटा दलीय व्यवस्थाबारे जानकार नै नरहेको आरोप लगाए । ‘उहाँले गुरिल्ला शासन व्यवस्थाबारे अध्ययन गरेको जस्तो देखिन्छ,’ बस्नेतले भने, ‘त्यही व्यवस्थाअनुसार उहाँ अघि बढ्न खोज्दै हुनुहुन्छ, संसदीय व्यवस्थाअनुसार सभामुखको भूमिका निर्वाह गर्न उहाँ असफल हुनु भएको छ ।’