यस्तो निष्कर्ष निकाल्दै सत्ता गठबन्धनको आजको लागि बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख ५ २०७९
2.8K
SHARES

५ वैशाख काठमाडौं । आगामी चुनावका लागि गठबन्धन टुंग्याउन सत्ता गठबन्धन आज पनि असफल भएको छ ।

सोमबार दिनभरको रस्साकस्सीकाबीच पनि गठबन्धन टुंगो लगाउन असफल भएको हो । तर, छलफल सकारात्मक भएको नेताहरूले प्रतिक्रिया दिएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका कांगेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने दाबी गरेका छन् ।

गठबन्धन बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता कार्कीले गठबन्धन सहमति नजिक पुगेको दाबी गरेका हुन् ।

उहाँका अनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरको मेयर र उपमेयरबारे सहमति नजिक पुगेको छ । मंगलबार बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उनको भनाइ छ ।

आइतबार र सोमबार सत्ता गठबन्धनका दलहरु आ–आफ्नो अडानमा कायम रहँदा सहमतिले मूर्तता पाउन सकेन ।