आर्थिक पुनरुत्थानका लागि उदार प्याकेज ल्याउन राष्ट्रपतिको अपिल
८ वैशाख काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोआओ फोरम एसियाको वार्षिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गरेकी छन् । सम्बोधनमा राष्ट्रपति भण्डारीले मञ्चमा भएको छलफलले देशहरूलाई महामारी नियन्त्रण र रोकथामका उपायहरू अवलम्बन गर्न र आर्थिक पुनरुत्थानका लागि प्रोत्साहित गर्ने विश्वास व्यक्त गरेकी हुन् ।
महामारीबाट लिइएको महत्त्वपूर्ण पाठमा जोड दिँदै राष्ट्रपति भण्डारीले नवीन र गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने बताइन् । उनले नेपालजस्ता विकासोन्मुख देशको आर्थिक पुनरुत्थानका लागि विश्व समुदायलाई उदार प्याकेज ल्याउन विशेष अपिल गरिन् ।
राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनले हिमाली र टापु राष्ट्रको अर्थतन्त्रमा परेको नकारात्मक असरबारे पनि प्रकाश पार्दै जलवायु परिवर्तनबाट बच्न कार्बन उत्सर्जन घटाउने प्रतिबद्धतालाई कार्यान्वयन गर्न प्रत्येक राष्ट्रलाई आग्रह गरेकी छन् ।