६० प्रतिशत गठबन्धन सफल भयो – प्रवक्ता महरा
१३ बैशाख काठमाडौं। नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले गठबन्धनमा आबद्ध रहेका दलबीच नै गठबन्धन र तालमेल गर्ने नीतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न पार्टीका सबै समितिलाई निर्देशन दिइएको बताएका छन्। सोमवार माओवादी केन्द्रको नियमित पत्रकार भेटघाटका क्रममा प्रवक्ता महराले केही स्थानमा गठबन्धनको नीति विपरीत गठबन्धन भएको भए त्यसलाई उम्मेदवारी फिर्ता हुने दिनसम्म फिर्ता गराउने नीति गठबन्धनको रहेको बताए।
‘एउटा उद्देश्यका लागि गठन भएको गठबन्धनको मर्म र भावना विपरीत जाने छुट कोही कसैलाई छैन, यसमा आबद्ध सबै दलको एउटै धारणा छ, त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्छौं,’ उनले भने। प्रवक्ता महराले देशभर ६० प्रतिशत स्थानमा गठबन्धन भएको बताए। बाँकी ४० प्रतिशत स्थानमा पनि मिलाइने उनको विश्वास छ। उनले गठबन्धन अझ अगाडि बढ्दै जाने पनि बताए। उनले नमिलेको ठाउँमा मनोनयन फिर्ता गर्ने दिनसम्म र चुनाव हुनु अघिल्लो दिनसम्ममा पनि एकले अर्कोलाई सहयोग गरेर जानेगरी सहमति हुने उल्लेख गरे।
उनले भने, ‘आज बिहानसम्मको गठबन्धनको प्रक्रियामा हामीले मोरदेन ६० प्रतिशत जति गठबन्धन सफल भएको छ। बाँकी केही काममा अलिकति मिलेका छैनन्। पार्टी भित्रपनि मिलेको छैन, पार्टी पार्टीको बिचमा पनि मिलेको छैन। केही प्रक्रिया अझ पनि जारी छ। यो मिल्नेक्रम बेलुकीसम्म अगाडि बढ्छ। आजमात्र होइन, १६ गतेसम्म मनोनयन फिर्ताको कार्यक्रम छ। मिल्ने क्रम जारी रहन्छ। जुन उद्देश्यमा आधारित भएर गठबन्धन बनेको थियो, प्रतिगमनको विरुद्धमा अग्रगमनको पक्षमा, संविधानलाई जोगाउनको निमित्त यो गठबन्धन सुरु भएको छ। यो सफल भएको छ। मैले यहाँहरूलाई सफलताको सन्देश दिन चाहन्छु। अब अझ अगाडि बढ्दै जान्छ।’
प्रवक्ता महराले पार्टीले केन्द्रीय तहबाट घोषणापत्र सार्वजनिक नगर्ने बताए। उनले स्थानीय विशेषतामा आधारित रहेर स्थानीय तह आफैँले घोषणापत्र सार्वजनिक गर्ने बताए। उनले भने, ‘हामीले अपिल जारी गरेका छौं र के भनेका छौं भने केन्द्रीय स्तरबाट भन्दा स्थानीय स्तरबाटै घोषणा पत्र आफ्नो विशेषतामा निकाल्ने भनेका छौं। विशेषतामा आधारित भएर आ-आफ्नो स्थानीय निकायले घोषणा पत्र निकाल्ने छन्। हामीले स्थानीय निकायलाई अलि शक्तिशाली बनाउने भनेकै हो। त्यो प्रक्रिया सुरु भएकै छ। हामी सकेसम्म केन्द्रीकृत शक्तिलाई विकेन्द्रीकृत गर्ने त्यसकारण हामीले त्यो अधिकार तल दिन चाहन्छौं।’
उनले नेकपा(माओवादी केन्द्र)मा पार्टी प्रवेशको लहर चलेको बताए। गठबन्धनका दलहरुकाबीचमा सहमति नभए पनि गठबन्धनका दलहरूले एमालेसँग निर्वाचनमा सहकार्य नगर्ने गठबन्धनको निर्णय अनुसार अघि बढ्ने उनले बताए।