किशोरीहरूले ढुक्कसँग राति हिँड्न सक्ने बनाउँछु – उमेदवार सिंह


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १४ २०७९
6.6K
SHARES

१४ वैशाख काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट उमेदवार रहेकी सिर्जना सिंहले काठमाडौंलाई २४ घण्टा खुल्ने सहर बनाउने घोषणा गरेकी छन् ।

बुधबार नेपाल तरुण दलले काठमाडौंमा गरेको कार्यक्रममा उमेदवार सिंहले आफू विजयी भएमा काठमाडौंलाई किशोरी, महिलाहरूलाई राति पनि ढुक्कसँग हिँड्न सक्ने सुरक्षाको व्यवस्था गर्ने बताइन् ।

“मैले चुनाव जितेपछि पर्यटकीय हिसाबले काठमाडौलाई घुम्न जाऔँ भन्ने सहर बनाउँछु,” उनले भनिन्, “प्रदूषित हैन, स्वच्छ सहर बनाउनु मेरो प्राथमिकता रहनेछ ।” उनले काठमाडौंलाई स्वच्छ मात्र नभई सुरक्षित सहर पनि बनाउने उद्घोष गरिन् ।

“काठमाडौंलाई २४ सै घण्टा खुल्ला रहने स्थानका रूपमा विकास गर्नुछ,” सिंहले भनिन्, “किशोरी युवतीहरू असुरक्षित महसुस गर्नुपर्ने अवस्था छ । मैले चुनाव जितेपछि किशोरी, युवतीहरूले पनि रातविरात ढुक्कसँग हिँड्न सक्ने काठमाडौंका लागि सुरक्षा व्यवस्था मिलाउनेछु ।”