जहाजको बारे स्थानीयले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १५ २०७९
5.7K
SHARES

१५ जेठ काठमाडौ । पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको थियो ।

हल्का वर्षा भइरहेका समयमा घरभन्दा केही माथि जहाज दुई तीन पटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्से खोलाका विकल बागदासले बताए।

“हामी खाना खाँदै थियौँ, जहाज धेरै पटक घुमेको थियो”, उनले भने, “हल्का कुहिरो लागेर पानी परिरहेको थियो” । उनले यसअघि मुस्ताङ जाने जहाज यति धेरै तल आएको नदेखेको बताए ।

“घरमै ठोकिन्छ जस्तो गरेर दुई, तीन पटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ”, उनले भने, “केही बेरमा अलिमाथि उडेर गयो, पानी परेकाले घुमेको होला भन्ने लागेको थियो ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर सङ्केत’ फेला परेको छ । सङ्केतअनुसार जहाज केही वस्तु वा पहाडमा ठोकिएको देखिन्छ । तर जहाज ठोकिएको आशङ्का गरिएको स्थान मानव बस्तीभन्दा निकै उच्च पहाडमा पर्ने उनले बताए ।

“त्यो पहाड निकै टाढा र अप्ठ्यारो ठाउँमा हो, अहिले त जान सकिँदैन”, उनले भने, “आकाश खुल्यो भने हेलिकप्टरमा जान सकिएला ।”

सम्पर्कविहीन भएको तारा एयरको विमानमा १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार म्याग्दी, मुस्ताङ, पर्वत र कास्कीका सम्भावित सबै ठाउँमा खोजी भइरहेको भए पनि जहाज सम्पर्कविहीन नै छ । अहिले मुस्ताङका अधिकांश ठाउँमा बाक्लो बादल लागेर पानी परिरहेको स्थानीयले बताए । रासस