पशुपतिको अतिक्रमण गरिएका जग्गा फिर्ता ल्याउँछौं – मन्त्री आले


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २४ २०७९
4.6K
SHARES

२४ जेठ काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने बताएका छन्।

भूकम्पका कारण भत्किएको पशुपतिनाथ परिसरमा रहेको विश्वरुपा मन्दिर तथा सतल पुनः निर्माणका लागि आज शुभारम्भ गर्दै उनले पशुपतिनाथको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काइ अतिक्रमण भएको जमिन सबै फिर्ता गराइने प्रतिवद्धता जनाए। मन्त्री आलेले भने, ‘सरकारी सम्पत्ति र भगवान्को जमिन कसैले मिच्न र अतिक्रमण गर्न पाउँदैन, अतिक्रमण भएका सबै जग्गा फिर्ता गराएरै छाड्छु।’

उनले राणा प्रधानमन्त्री जंगबहादुरका पालमा निर्माण भएको विश्वरुपा मन्दिर विसं २०७२ को भूकम्पका कारण भत्किएकाले अब यो मन्दिर चाँडै पुनःनिर्माण हुने बताए। अरूभन्दा भिन्न विशेषता भएको यो मन्दिर पुनःनिर्माण भए यहाँ थुप्रै धार्मिक पर्यटकहरू भित्रिने हुँदा चाँडो निर्माण गर्न निर्माण व्यवसायीलाई मन्त्री आलेले आग्रह गरे। उनले भने, ‘चार धाममध्ये पशुपतिनाथ एक धाम हो, त्यसैमा अझ विश्वरुपा मन्दिर पुनःनिर्माण भए भक्तजन तथा पर्यटकहरू थप भित्रिने छन्।’

४५ करोडको लागतमा निर्माण हुन लागेको ऐतिहासिक उक्त मन्दिर आगामी दुई वर्षभित्रमा निर्माण गरिसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ। फरक प्रसंगमा मन्त्री आलेले आफू जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गरेको र अझै पनि देश र नागरिककै पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। पशुपति क्षेत्र विकास कोषको हाताभित्र रहेका क्रियापुत्री बस्ने ठाउँलाई व्यवस्थित गरी छिटै तातो र चिसो पानीको व्यवस्था गरिने जानकारी दिँदै उनले मन्दिर क्षेत्रमा रहेको पानी शुद्ध पारी पिउन र नुहाउन मिल्ने खालको बनाउन कोषका पदाधिकारीलाई सुझाव दिए।