अडियो सांसद ढाकाकुमारकै भएको समितिको ठहर
२९ चैत्र काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुशासन समितिका एक सदस्यले पछिल्लो समय विवादित बनेको अडियो सांसद ढाकाकुमार श्रेष्ठकै भएको ठहर आफूहरूले गरेको बताएका छन् । सांसद श्रेष्ठले समितिसमक्ष बयानका क्रममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको उक्त अडियो आफ्ने नभएको जिकिर गरेका थिए । पार्टी सभापति रवि लामिछानेलाई इमेलमार्फत मंगलबार तीनपन्ने प्रतिवेदन बुझाएको समितिका पदाधिकारीले आज केन्द्रीय समिति बैठकमा ‘ब्रिफिङ’ पनि गर्दै छन् ।
“हामीलाई केन्द्रीय समितिमा पनि ब्रिफिङ गर्न भनिएको छ । प्रतिवेदनका बारेमा त्यहाँ पनि हाम्रातर्फबाट ब्रिफिङ हुनेछ,” अनुशासन समितिका ती सदस्यले भने, “उहाँले प्रसाईंसँग आफूले कुरा नगरेको र त्यो अडियो पनि आफ्नो नभएको बताउनुभएको छ । तर, हाम्रो बुझाइमा प्रसाईंसँगको कुराकानीमा भएको अडियो उनको नै हो ।” अनुशासन समितिसँग सांसद श्रेष्ठले सहयोग मागेको र आफूलाई असहयोग गरे ‘कोर टिम’ प्रमाणसहित सार्वजनिक गर्ने धम्की दिएको विषय भने ती सदस्यले अस्वीकार गरे ।
“हामीसँगको बयानमा उहाँले त्यस्तो सहयोगको अपेक्षा वा धम्की दिनुभएको छैन । बाहिर आएको कुराले म अचम्मित पनि छु,” ती सदस्यले भने, “अहिले उहाँले अडियो नै मेरो होइन भन्नुभएको छ । भोलि कारबाही भएपछि अडियो मेरै हो, तर कोर टिम फलाना–फलाना हुन् भन्दैमा कसले पत्याउँछ ? तपाईंहरू पत्याउनुहुन्छ ?” प्रमाणसहित सार्वजनिक गरे त पत्याउन पर्ला नि ? भन्ने प्रश्नमा ती सदस्यले विश्वसनीयता गुमाइसकेको व्यक्तिले गर्ने दाबीमा सत्यता हुन नसक्ने जिकिर गरे ।
“उहाँ आफ्नै अडियोलाई कहिले मेरो होइन र कहिले मेरै हो भनेर अरूलाई आरोपित गर्नुहुन्छ भने त्यसको विश्वसनीयता कसरी स्थापित हुन्छ ?,” प्रश्न गर्दै ती सदस्यले भने, “त्यस्ता व्यक्तिले कसरी अरूको नैतिकतामा प्रश्न उठाएको कुरामा वैधता कायम हुनसक्छ ?”