बालकोट बैठकमा के भयो ?
४ वैशाख काठमाडौं । तीन दलका शीर्ष नेताले प्रधानन्यायाधीशको नियुक्तिको विषयमा छलफल गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बिहान भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता ओली, काँग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेबीच उक्त सहमति भएको हो।
संवैधानिक परिषद् बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने सहमति भएको नेपाली काँग्रेसको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनले भने, ‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशको स्थायी नियुक्तिको संवैधानिक प्रक्रियाका लागि पहल गर्नुभयो। प्रधानमन्त्रीले काँग्रेस सभापति र प्रमुख प्रतिपक्षी दलका नेताबीच व्यापक छलफल भएको छ। संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको छ।’
काँग्रेस-माओवादीका सांसदले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्तापछि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशका भरमा छ। लेखकले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा (टिआरसी) लगायतका विधेयक पनि छलफल भएको बताए। उनले थप छलफल फेरि बसेर गर्ने र अगाडि बढाउने सहमति भएको बताए।