एमालेले सरकारलाई दियो यस्तो चेतावनी
३० वैशाख काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न स्थानमा गरिएको आक्रमण प्रयासको भर्त्सना गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकबाट पारित १६ समसायिक प्रस्तावको तेस्रो बुँदामा यो विषय उल्लेख छ ।
उक्त घटनाप्रति मूकदर्शक बनेको भन्दै सरकारप्रति खेद प्रकट गरिएको छ । एमाले नेतृत्वमाथि यस्ता हर्कत नदोहोर्याउन सम्बन्धित सबैलाई चेतावनी समेत दिइएको छ।
“हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीमाथि हालै झापा, इलाम, पाँचथर र तेह्रथुममा गरिएको सांघातिक आक्रमणको प्रयासलाई बैठकले निकै गम्भीर रूपमा लिएको छ । मुलुकमा मुठभेड निम्त्याउने, राजनीतिक दलहरूबीच द्वन्द्व सिर्जना गर्ने, सामाजिक सद्भावन बिथोल्ने, नेकपा (एमाले) पंक्तिको मनोबल कमजोर बनाउने र अस्थिरता सिर्जना गरी धमिलो पानीमा माछा पार्ने प्रयासस्वरूप अध्यक्षमाथि भएको यसप्रकारको आपत्तिजनक, अराजनीतिक र आपराधिक दुष्प्रयासको यो बैठक घोर निन्दा तथा भर्त्सना गर्दछ,” पारित प्रस्तावको तेस्रो बुँदामा उल्लेख छ, “मुलुकको पूर्वप्रधानमन्त्री तथा संसद्मा प्रमुख विपक्षी दलको नेतामाथि यसप्रकारको आपत्तिजनक कार्य हुँदा समेत शान्ति–सुरक्षाको न्यूनतम दायित्वबाट विमुख हुँदै मूकदर्शक बनेकोमा सरकारप्रति यो बैठक खेद प्रकट गर्दछ । साथै, नेकपा (एमाले)को नेतृत्वमाथि यस्ता हर्कतहरू नदोहोर्याउन यो बैठक सम्बन्धित सबैलाई चेतावनी दिन चाहन्छ ।”