लडाकु शिविरमा भ्रष्टाचार हैन, खुलेआम लुट थियो – महासचिव पोखरेल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ५ २०८०
3.5K
SHARES

५ जेठ काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन माओवादी लडाकु शिविरको घोटाला प्रकरण भ्रष्टाचार नभइ खुलेआम लुट भएको बताएका छन् । महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत माओवादी लडाकु शिविर प्रकरणमा ७-८ हजारको हाराहारीमा रहेका लडाकुहरुलाई ३२-३३ हजार पुर्‍याएको कुरा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैंले बोलेको अडियोमा र रहेको र त्यो सामाजिक सञ्जालमा सुरक्षित रहेको बताएका हुन् ।

‘वास्तविक लडाकु ७-८ हजारमध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाईसिएलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीवाट बाहिरिएका धेरैले बोल्ने गर्दछन्,’ पोखरेलले लेखेका छन्, ‘शिविरमा रहेकाहरुले बुझ्ने गरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोरेर राख्ने गरेको कुरा त्यहाँ बस्ने लडाकुहरु धेरैले धेरैपटक उठाउँदै आएको कुरा हो।’

अनमिनले प्रमाणिकरण गरेकाहरुमध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकाश रोजेर राज्यबाट ठूलो रकम प्राप्त गरेको उनले बताएका छन् । जसकारण लडाकुका नाममा राज्यलाई अनुचित आर्थक भार परेको उनले लेखेका छन् । ‘यी सबै तथ्यहरुबाट राज्यले कति अनुचित आर्थिक भार बोक्नु पर्‍यो र लडाकुको नाममा राज्यले उपलब्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे र कसकसलाई बुझाए भन्ने कुरा खोजी गर्दा लुक्न सक्ने कुरा होइन,’ उनले लेखेका छन् ।