पुनः एक पटक माओवादी भएर काम गर्नुस् – महासचिव विप्लव
७ जेठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे बिद्रोह हुने चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको भन्दै अहिल पनि सोही स्थिति आइरहेको बताए । उनले सरकारले मन्त्रिपरिषद्मा जनचाहना अनुरुपका प्रस्तावहरु गरे आफूले सडकबाट साथ दिने प्रतिवद्धता जनाए ।
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकपटक पुनः माओवादी बनेर काम गर्न आग्रह गरे । उनले जनताका माग पूरा गर्न माओवादी बनेर मात्रै सम्भव रहेको उल्लेख गरे ।