धेरै काम गर्ने , थोरै बोल्ने संकल्प गरेको छु – प्रधानमन्त्री
७ जेठ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले थोरै बोल्ने र धेरै गर्ने संकल्प लिएको बताएका छन् । राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा काठमाडौंको नाचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले अहिले थोरै बोल्ने गरेको बताए ।
“म अहिले धेरै बोल्दिनँ । म प्रधानमन्त्री जस्तो भएर बोल्नुपर्ने हुन्छ । मैले बोल्ने भाषा विप्लवजी (नेकपा महासचिव) ले बाहिरबाट बोलिरहनुभएको छ । योपटक मैले थोरै भन्ने र धेरै काम गर्ने संकल्प लिएको छु । मैले प्रधानमन्त्री भएको दिनदेखि त्यो गरिरहेको छु,” उनले भने । उनले आफू प्रधानमन्त्री भएपछि पहिलोपटक बेपत्ता योद्धाहरूको शिलालेख उद्घाटन गरेर ‘जनयुद्ध’का योद्धा र बेपत्ता योद्धाहरूको पक्षमा काम थालेको पनि दाबी गरे ।
“२०७१ मा भएको निर्णयअनुसार जनयुद्धका योद्धालाई दुई लाख दिने निर्णयको अनावश्यक विरोध भयो । सो विषयमा सर्वोच्च अदालले पुनः राहत दिने बाटो खोल्ने छ भन्ने विश्वास छ,” उनले भने, “यसका लागि माओवादी आन्दोलनका सम्पूर्ण धारहरू एक भएर सचेततापूर्वक लाग्नुपर्नेछ ।”